Skip to main content

Every donation can help save up to three lives.

Blog

रगत दिऔं, जीवन जोगाऔं

रगत दिऔं, आस जगाऔं
सबै मिलेर जीवन जोगाऔं

यो मूल नाराका साथ हामी संसारभर विश्व रक्तदाता दिवस जुन १४ मनाइरहेका छौं। रगत मात्रै एउटा यस्तो तत्व हो, जसले न धर्म हेर्छ न जातजाति। न धार्मिक आस्था सोध्छ न त राजनीति वाद नै बुझ्छ। यो दान गर्न न कसैसँग झुक्नुपर्छ न सोध्नु नै पर्छ। स्वयंसेवी रक्तदाता भन्नु नै संसारभर छरिएर बसेका वा संगठित भएर आफ्नो शरीरको रगत दान स्वरूप प्रदान गरेर सेवामा जुट्ने प्रमुख पात्रहरू हुन्।

अफ्रिकन राष्ट्र जोहन्सबर्गबाट सन् २००४ देखि स्वयंसेवी रक्तदाताहरू र तिनीहरूले दानमा प्रदान गरेको रगत र त्यस रगतबाट तयार पारिएका रक्ततत्वहरूको उचित सम्मान, सम्बोधन गर्ने हेतु जुन १४ लाई विश्व रक्तदाता दिवसको रूपमा मनाउन थालिएको हो। संसारमा विभिन्न विषयअन्तर्गत विषयगत महत्व दिँदै अन्तर्राष्ट्रिय दिवसहरूको घोषणा गरिएका छन्। यसलाई विषयगत पर्वको रूपमा लिँदा केही फरक नपर्ला। सम्बन्धित विषयका विज्ञ एवं सरोकारवालाको उपस्थितिमा यस्ता दिवस मनाउँदै आइरहेको अवस्थामा विश्व रक्तदाता दिवसको महत्व र गरिमा छुट्टै छ।

हालैमात्र हामीले १९औं राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस माघ १५ गते (रगत र रक्ततत्वहरूको आवश्यकता पूर्ति गर्ने एकमात्र माध्यम केवल रक्तदान, यही आवश्यकतालाई पूर्ति गर्न गरौं, हामी सबैले सर्वत्र नियमित रक्तदान।) मूल नाराका साथ देशभर राष्ट्रिय स्वयंसेवी रक्तदाता दिवस मनाएका थियौं। स्वयंसेवी रक्तदाताहरूलाई राष्ट्रिय स्तरमा धन्यवाद एवं सम्मान जाहेर गर्दै नयाँ नयाँ स्वयंसेवी रक्तदाताहरूको संख्यामा वृद्धि गराई सहज तवरले रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू पीडितसमक्ष उपलब्ध गराउँदै आइरहेका छौं। विज्ञानको पुस्ट्याइँलाई व्यवहारमा उतार्न प्रत्येक तीन तीन महिनको अन्तरालमा रक्तदान गर्ने गरौं। अप्ठ्यारोमा परेकालाई जीवनदान गरौं। यो मुख्य भावनाका साथ संसारभरका स्वयंसेवी रक्तदाताहरूले आफ्नो शरीरको रगत र त्यस रगतबाट तयार पारिएका रक्ततत्वहरू दानमा प्रदान गरिरहेका छन्।

वैज्ञानिक कार्ल ल्याण्डस्टिनरले हाम्रो शरीरमा ए, बी, ओ र एबी रक्त समूहको रगत हुन्छ भन्ने तथ्य पत्ता लगाई प्रमाणित गरेका थिए। यसैको आधारमा सन् १९३० मा नोबेल पुरस्कारसमेत जित्न सफल वैज्ञानिक कार्ल ल्यान्डस्टिनरको जन्मदिन सन् १८६८ जुन १४ को दिनलाई सम्मान स्वरूप विश्व रक्तदाता दिवसको रूपमा मनाउन थालिएको हो। उनी सन् १९४३ मा स्वर्गारोहण हुनुभयो। स्वास्थ्य क्षेत्रमा सबैको सहज पहुँच सरकारको नीति नै हो। कुन कतिखेर कहाँ यो भनाइ वा यो नीतिले नागरिकलाई बोध गराउने अवस्था सृजना भएको छ ?

पीडितले रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू प्राप्ति दाममा गराइन्छ। रक्तदानको उपहास यसरी सरकार स्वयंले गरिरहेको छ। जबसम्म पीडितले रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू निःशुल्क प्राप्त गर्दैन, तबसम्म यो व्यापारिक प्रयोजनको साधनका रूपमा हामी स्वयंसेवी रक्तदाताहरूले बुझ्न बाध्य हुनेछौं। सरकारले यस विषयलाई उपेक्षित बनाइरहनु शोभनीय कार्य होइन। स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरेको रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको निःशुल्क वितरणको माग आजभन्दा चार दशक पहिलेदेखि उठेको हो। सत्कर्म, सत्वाणी आखिर सत्य प्रमाणित हुँदै आइरहेको छ। जसले गर्दा पीडितसमक्ष निःशुल्क रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको उपलब्धतामा आशातीत किरण देखिन थाले को छ।

स्वयंसेवी रक्तदाताहरूको पहलकदमीले अहिले आंशिक रूपमा भए पनि रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू निःशुल्क उपलब्ध हुन थालेका छन्। यसमा प्रदेशहरू क्रमशः बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम सरकारले आफ्ना नागरिकलाई रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू निःशुल्क उपलब्ध गराउन थालेका छन्।

यसैगरी, अन्य प्रदेश क्रमशः कोशी, मधेस र कर्णाली प्रदेशमा पनि चाँडै नै रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको उपलब्धता पीडितसमक्ष निःशुल्क गर्न र गराउनुपर्ने हो। ढिलासुस्ती हुनु भनेको तथ्यगत ज्ञानको कमीका साथै अपरिपक्वताको पराकाष्ठा हो। स्वयंसेवी रक्तदाताहरू आफ्नो रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको महत्वलाई अर्थसँग दाँजेर अन्योल सृजना गरिराख्नु सरकारले हैसियत प्रदर्शन गर्नु हो। स्वयंसेवी रक्ताताहरूको सक्रियतामा पालिका स्तरमा पनि रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू स्थानीय जनाताका लागि आवश्यकतानुसार निःशुल्क उपलब्ध गराउन सुरु भएको अवस्था छ। प्रदेश सरकारले सामुदायिक अस्पतालमा उपचारार्थ बिरामीका लागि रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरू निःशुल्क व्यवस्था गरिएको छ। पालिका स्तरबाट आफ्ना नागरिकलाई निजी अस्पतालमा उपचारार्थ बिरामीहरूसमक्ष रगत र रगतबाट तयार पारिएका रक्ततत्वहरूको उपलब्धतामा निःशुल्क गरिएको छ। यसरी खण्डखण्ड गरी देशभित्र सञ्चालित रक्तसञ्चार सेवालाई कार्यान्वयन गर्नु कत्ति पनि समानतामूलक शैली होइन।

अब संघीय सरकारद्वारा एकरूपताका साथ गुणस्तरीय एवं प्रभावकारी सेवा प्रदान गर्न ढिलाइ नगर्नुमा बुद्धिमानी हुने देखिन्छ। रक्त सञ्चार सेवाको क्षेत्रमा राज्यद्वारा लागू गरिएको राष्ट्रिय नीतिमा तीनपटकसम्म संबोधन गरिएको छ। सर्वपक्षीय सहभागिता र छलफलबिना तय गरिएको राष्ट्रिय नीतिले स्वयंसेवी रक्तदाता र तिनले दानमा प्रदान गरिएको रगत र त्यस रगतबाट तयार पारिएको रक्ततत्वहरूलाई अवमूल्यन गरिएको स्वयंसेवी रक्तदाताहरूको ठम्याइछ। रक्तदान कुनै पनि बाध्यात्मक परिस्थिति र सोधभर्नाबिनाको हुनुपर्छ। नितान्त स्वेच्छिक हुन जरुरी छ। तर, सोधभर्नाको माग पनि गरिन्छ। यो आफैंमा अपराध हो। हाल नेपाल रेडक्रस सोसाइटी मातहत ७३ जिल्लाको १०३ स्थानबाट सञ्चालित रक्तसञ्चार सेवालाई स्तरोन्नति गर्दै लानुपर्ने हो। तर, यसो नभई स्वयंसेवी रक्तदाताहरूको रगत सेवाको नाउँमा व्यापार भइरहेको छ।

सरकारले देशभरका नागरिकको सेवामा तल्लीन हुने कि सहर केन्द्रित निजी अस्पतालमा सीमित रहने ? यो प्रश्नको जवाफ सरकारले नागरिकलाई जिम्मेवारीपूर्वक दिनुपर्छ। ७७ जिल्लामा स्वयंसेवीको सञ्जाल भएको मानवीय संस्थामार्फत रक्तसञ्चार सेवालाई सुधार गर्दै सेवा दिन लगाउने कि निजीलाई व्यापार गर्न दिने ? सरकार कहाँ छ ?

देशमा सञ्चालित रक्त सञ्चार सेवा केन्द्रहरू लगामबिनाको घोडा झैं अस्तव्यस्त छन्। कुनै नियमनकारी निकायको नियन्त्रणमा छैन। सरकारी नियमकारी निकाय नै यसको आधिकारिक निकाय हो तर यसको उपस्थितिको अनुभूति गर्न पाएको छैन। रगत परीक्षणमा एकरूपता कतै छैन। स्वयंसेवी रक्तदाताहरूले दानमा प्रदान गरेको रगतको गुणस्तरीय परीक्षण हुन जरुरी छ। अत्याधुनिक प्रविधि भित्र्याएर संक्रमित रगतबाट झ्याली समयमा हुनु सक्ने जोखिमलाई न्यूनीकरण गर्नु प्रमुख कर्तव्य हुन जरुरी छ। होइन भने सेवाको नाममा थप संक्रमितको संख्या बढ्ने डरलाग्दो अवस्था सृजना हुन सक्छ।

२०८२ जेठ ३१

Leave a comment

Your email address will not be published. Required fields are marked *

Need blood?